
दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमवार ४१ औं नगरसभाको पहिलो बैठकमा चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
नगर सरकारको नीति तथा कार्यक्रम ‘विविधतायुक्त गाउँशहर : समृद्ध मेरो व्यास नगर नारालाई सार्थकता’ को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहने बताउँदै नगर प्रमुख न्यौपानेले नागरिकले अनुभूति गर्नेगरी विकासको प्रतिफल वितरण, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, क्रमागत आयोजना सम्पन्न, कृषि, पर्यटन, उद्योग, व्यापार, लगानीको वातावरण निर्माणलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताए।
सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि चालू आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रमा हालसम्म सम्पादन भएका क्रियाकलापहरू समेटी ‘सार्वजनिक विद्यालय सवलीकरण कार्यक्रम’ घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्न जल पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधकरण तथा विस्तारमा जोड दिने नीति छ ।
व्यास-१० दुम्सी बजारमा संचालित कोभिड अस्पताललाई ” व्यास नगर अस्पताल नामकरण गर्ने नीतिमा उल्लेख गरेको छ ।
कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रममा किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्बन गरिने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?