एसइई : तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य

दमौली : बिहीबार प्रकाशित भएको एसइई परीक्षाफलअनुसार तनहुँका १३ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ। १३ वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी पास नभएका जिल्ला शिक्षा समन्वय ईकाई तनहुँका सूचना अधिकारी विश्व प्रकाश रेग्मीले जानकारी दिए।

सूचना अधिकारी रेग्मीका अनुसार शुक्लागण्डकी नगरपालिकाका सरस्वती मावि, भानु नगरपालिकाका आदर्श सरस्वती मावि, शुक्लागण्डकी नगरपालिकाकै महेन्द्रमावि, ऋषिङ गाउँपालिकाका जय दुर्गा मावि र व्यास नगरपालिकाका अमरसिंह माविबाट कुनै पनि विद्यार्थीहरु पास हुन सकेनन्।

यसैगरी, घिरिङ गाउँपालिकाका दिपक मावि, ऋषिङ गाउँपालिकाका महेन्द्रोदय मावि, वन्दिपुर गाउँपालिकाका शिव मावि, घिरिङ गाउँपालिकाका रास्ट्रिय मावि, आँबुखैरेनी गाउँपालिका कन्यादेवी मावि, आँबुखैरेनी गाउँपालिकाकै छिम्केश्वरी मावि र घिरिङ गाउँपालिकाकै महेन्द्रज्योती माविको नतिजा शून्य आएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उद्धवराज जमरकट्टेलका अनुसार तनहुँ जिल्लाबाट यस बर्ष ५ हजार ३ सय ६४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये साधारण तर्फ ५ हजार २ सय ३१ जना र प्राविधिक तर्फ १ सय ३३ जना रहेका थिए ।

समन्वय प्रमुख कट्टेलका अनुसार परीक्षामा सहभागी भएका मध्ये साधारण तर्फ २ हजार १ सय ७८ जना र प्राविधिक तर्फ ५४ जनाले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । प्रतिशतमा यो संख्या ४१.६१ प्रतिशत हुन आएको छ ।

त्यस्तै ३.६ –४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ स ३६ जना , ३.२–३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ७ सय ७ जना , २.८–३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ८ सय ८८ जना ,२.४–२.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ३ सय ८२ जना ,२.०–२.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १९ जना , १.६–२.० जिपिए ल्याउने विद्यार्थीको संख्या १ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?