प्रधानमन्त्रीले साउन ६ मा विश्वासको मत लिने

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार संसदमा विश्वासको मत लिने भएका छन् । त्यस दिन उनले देशबासीका नाममा सम्बोधनसमेत गर्ने बताइएको छ ।

त्यसपछि उनले संसदबाट विश्वासको मत लिन लागेको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

असार ३० मा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले ३१ गते शपथ ग्रहणसँगै पदभार ग्रहण गरेका थिए । प्रधानमन्त्रीमा ओलीको नियुक्ति संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्दै नेपाली कांग्रेस र एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाएका हुन् ।

ओली सरकारलाई अन्य केही साना दलहरुले पनि साथ दिएका छन् । योसँगै सत्ता गठबन्धन संसदमा दुई तिहाई नजिक पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?