सिमलताल पहिरो : भारतीय प्राविधीक टोलीद्धारा खोजीकार्य सुरु

काठमाडौं : त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुको खोजीकार्यका लागि चितवन पुगेको भारतीय प्राविधिक टोलीले आइतबार बिहान घटनास्थल सिमलतालबाट खोजी सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेस रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य बिहानबाट सुरु गरेको जानकारी दिए ।

शनिबार आवश्यक प्रविधिसहित यहाँ आइपुगेको टोलीलाई जिल्ला सुरक्षा समितिसित छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरइफ) का १२ जनाको प्राविधिकी टोली चितवन पुगेको हो ।

“टोलीले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्ने सोनार क्यामेरा लगायतको प्रविधि प्रयोग गरेको छ,” प्रहरी उपरीक्षक रिमालले भने, “ जिल्ला सुरक्षा समितिको बैठकपछि हिजो नै टोली कुरिनटार पुगिसकेको थियो ।”

घटनापछि लगातार सुरक्षा निकाय खोजीकार्यमा जुटेको छ । हालसम्म २५ जनाको शव भेटिएको छ । जसमा सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली गरी दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?