दमौली : तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका चार वडा समेटेर निर्माण गरिएको भानुभक्त प्राणी उद्यानबाट प्रभावित स्थानीयले मुआब्जा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समितिको चार वर्षअगाडि बसेको बैठकले मुआब्जा रकम टुङ्गो लगाइसके पनि सरकारले बजेट निकासा नगरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका हुन् ।
जग्गाधनी समन्वय समितिका संयोजक हर्क बहादुर कार्की र सङ्घर्ष समितिका संयोजक प्रकाश मल्लको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम मार्फत सरकारलाई गत सोमवार ज्ञापनपत्र बुझाउँदै अविलम्ब मुआब्जा रकम वितरण गर्न माग गरिएको थियो।
भानुभक्त प्राणी उद्यानको पूर्वाधार निर्माणले तीन वर्षको अवधिमा धेरै गति लिइसके पनि सम्बन्धित घर जग्गाधनीले अहिलेसम्म मुआब्जा रकम पाउने नसकेको कार्कीले बताए । चरणबद्ध रुपमा राज्यका सम्बन्धित निकाय वन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायत राष्ट्रपति, प्रधानमन्त्री समक्ष पुगेर समेत मुआब्जा रकम वितरणका लागि अनुरोध गरिएको कार्कीको भनाइ छ ।
उनले भने, ‘मुआब्जा रकम टुङ्गो लागिसकेको छ, तर बजेट नआउँदा सम्बन्धित प्रभावितले पाउन सकेका छैनन्, जग्गा किनबेच गर्न पाइँदैन, स्थानीयवासीलाई समस्या भइरहेको छ ।’ प्राणी उद्यानबाट मुआब्जा पाउने प्रभावितहरुको यही साउन १८ गते बसेको बैठकले अविलम्ब आफूहरुको माग सम्बोधन नभए सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने सङ्घर्ष समितिका संयोजक मल्लले बताए ।
ज्ञापनपत्र बुझाएर माग पूरा नभएको भन्दै हिजो साउन २७ गते भानु प्राणी उद्यानको कार्यलयमा तालाबन्दी, कार्यालय घेराउ सहित पृथ्वीराजमार्गमा चक्का जाम गर्ने चेतावनी दिएकाे छ । यस्तै श्रावण २८ आज र २९ गते भोलि जिल्ला प्रशासन कार्यालय धर्ना दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
प्राणी उद्यानभित्र परेका एक सय २६ जग्गाधनीको नौ सय ६१ रोपनी जग्गा अधिग्रहण गरेको छ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार चार सय ४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै, उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार पाँच सय ७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार सात सय सात मुआब्जा निर्धारण गरिएको छ । प्राणी उद्यानको सिमानामा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहने छन् । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक तथा उद्धार र अनुसन्धान रहनेछ ।
वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना गरिएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको थियो । प्राणी उद्यानले व्यासका वडा नं ११ र १२ तथा भानुका वडा नं ५ र ६ का भाग समेटेको छ । प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार सात सय ३० बजेट आवश्यक पर्छ ।
प्राणी उद्यान कूल चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । प्राणी उद्यानले दुई सय ९७ दशमलव ४७ हेक्टर संरक्षण इलाका र एक सय २७ दशमलव ५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?