भागवण्डा मिलाउन गण्डकीमा दुई मन्त्रालय टुक्र्याइयो, अब नाैवटा मन्त्रालय

काठमाडौं : गत असारमा केन्द्रमा बनेको गठबन्धनअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बनाउन गण्डकी प्रदेशमा दुईवटा मन्त्रालय टुक्राइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली संशोधन गरेर हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्र्याउने निर्णय गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई दुईवटा बनाइएको छ । अब उद्योग तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय रहने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । यसअघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय एउटै रहेकोमा अब सामाजिक विकास र स्वास्थ्य छुट्टै मन्त्रालय बनाइएको छ ।

`अहिले उद्योग र पर्यटनमा सचिव छुट्टै हुनुहुन्छ । सामाजिक विकास तथा स्वास्थ्यमा पनि त्यस्तै छ । यसले प्रदेशलाई ठूलो फरक हुँदैन । दुई जना मन्त्री मात्र थपिनुहुन्छ,´ उनले भने । समझदारीअनुसार ५ जना नेपाली कांग्रेस र ४ जना नेकपा एमालेबाट मन्त्री बन्ने मुख्यमन्त्री पाण्डेले बताए ।

हाल कांग्रेसको भागका ५ जनामा नेसपानिकट फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री छन् । गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, उद्योग तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय हुनेछ ।

गण्डकीमा हाल मुख्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । अब एमालेले चार जना मन्त्री सरकारमा पठाउने छ । एमालेले कुन-कुन मन्त्रालय लिने र हालका मन्त्रीको जिम्मेवारीबारे निर्णय भइनसकेको मुख्यमन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?