काठमाडौं : निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुअघि नेपाली नागरिकता त्याग गरेको विवरण मागेको छ ।
आयोगको बिहीबार बसेको बैठकले स्थानीय तह उपचुनावका लागि मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साविकको नागरिकता त्यागको विवरण गृह मन्त्रालयमार्फत माग गर्ने निर्णय गरेको हो ।
ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।
नागरिकता ऐन, २०६३ (संशोधनसहित) को दफा ठ (क) को उपदफा (२) को खण्ड (ख) मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालको नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था भएको भन्दै नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला निर्वाचन कार्यालयमा ५ कात्तिकभित्र उपलब्ध गराउन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?