काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध शान्दार जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्धतमा विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमले शान्दार सुरुवाती जित हासिल गर्न सफल भएको हो ।
मंगलवार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कीर्तिमानी एक सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदा अल आउट भयो । विराटनगर प्रतियोगितामा तेहेरो अंकमा रन नबनाउने पहिलो क्लब बनेको छ ।
प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जितबाट महत्वपूर्ण दुई अक जोडेको छ ।
यो विराटनगरको लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। सुदूरपश्चिमविरुद्ध जवाफि ब्याटिङमा आएको विराटनगरको ब्याटिङक्रम नै चल्न सकेन । कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । आशा गरिएको विदेशी खेलाडी पनि चलेनन् । त्यसैले विराटनगरले तेहोरो अंकमा रन पनि जोड्न सकेन ।
न्युजिल्यान्डका २८ वर्षीय ब्याटर मार्टिन जेम्स गप्टिल एनपिएलको दोस्रो खेलमै गोल्डेन डकआउट ९पहिलो बलमै० भए । न्युजिल्यान्डबाट सन् २०१५ आईसिसी एकदिवसीय विश्वकपमा वेष्ट इन्डिजविरुद्ध दोहोरो सतक बनाएको कीर्तिमान उनीसँग छ । यसअघि पहिलो खेलमा जनकपुरविरुद्ध उनले ५५ रन बनाएका थिए । उनलाई सुदूरपश्चिमका स्कट गुकुलेइनले तेस्रो बलमै गोल्डेन डक आउट गरेका हुन् । एनपिएल खेल्ने शिखर धवनपछिका दोस्रो ठूलो स्टार हुन् ।
गप्टिल आउट भएपछि अरु खेलाडी पनि क्रिजमा टिक्नै सकेनन् । अर्का ओपनिङ ब्याटर लोकस बमपछि २ रन बनाएर आउट भएपछि विराटनगर दबाबमा आयो । निकोलस किर्टन ५, राजेश पुलामी मगर, १५, बसिर अहमेद २४, इस्मत आलम, प्रतिश जिसी १, कप्तान सन्दीप लामिछाने ८, स्कट १० र क्रिस सोल ९ रनमा आउट भए । अनिल खरेल १० रनमा अविजित रहे ।
बलिङतर्फ स्कट र अभिनाश बोहराले समान सर्वाधिक तीन विकेट लिए । स्कटले चार ओभरमा ३० रन तथा अभिनासले ३ ओभरमा १७ रन खर्चिए । ब्रान्डन म्याकमुलेन, सैफ जैव र इशान पाण्डेले एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले प्रतियोगिताको एकै इनिङ्समा कीर्तिमानी रन बनायो । तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले २ विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबीच छैटौं विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन एक सय ८२ रन बनाउन सफल भयो । दीपेन्द्रले २४ बलमा तीन चौका र ५ छक्कासहित अविजित सर्वाधिक ५७ रन बनाए । उनी अनिलकुमार शाहपछि अर्धसतक बनाउने नेपाली दोस्रो खेलाडी हुन् । समग्रमा एनपिएलमा चौथो अर्धसतक बनेको छ । छैटौै नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराए ।
सुदूरपश्चिमको लागि स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए । अनुभवी ओपनिङ ब्याटर विनोद भण्डारीलेि २० बलमा चार चौकासहित २३ रन जोडे । इंग्ल्यान्डका सेफ जैब १५ बलमा एक छक्कासहित १४ रन बनाएर पेभिलियन फकिृएका थिए । तीनै खेलाडीलाई अनिल खरेलले आउट गरेका थिए । न्युजिल्यान्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोडे । यसअघि ओपनर अमित श्रेष्ठ १ रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा आएको थियो । आरिफ शेख पनि ९ रनमै आएट भएका थिए ।
कप्तान सन्दीप लामिछाने दोस्रो खेलमा पनि विकेट विहिन रहे । उनले चार ओभरमा ३१ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । पहिलो खेलमा जनकपुरविरुद्ध ४ ओभरमा ३० रन खर्चिँदा पनि विकेटविहिन भएका थिए । विराटनगरको लागि अनिलले चार ओभरमा २६ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिएका थिए । २२ वर्षीय अफगानिस्तानका इस्मत आलम, स्कटल्यान्डका ३० वर्षीय क्रिस सोल र बसिर अहमेदले समान एक विकेट हात पारेका थिए ।
आज नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?