एनपीएलमा विराटनगरको दोस्रो जित, प्लेअफको सम्भावना कायमै

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो।

विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।

यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ भने चितवनलाई भने धक्का लागेको छ।

चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन र सन्तोष कार्कीले २८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

विराटनगरका लागि सन्दीप लामिछानेले २ र क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेस बमले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे। त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे। २० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?