लमजुङ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रुपमा रहेको श्रमशक्ति नै रित्तिएर आउन सक्ने राष्ट्रिय संकटबाट जोगाउनका लागि गाउँमै आम्दानी र रोजगारीेको व्यवस्था पहिलो आवश्यकता भएको बताए ।
राष्ट्रपति पौडेलले लमजुङ सोतीपसलस्थित मंगला उच्च माविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै गाँउ गाँउको माटोमा कृषि क्रान्ति गरी कृषि पेशालाई थोरै मेहेनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुशी पेशामा रुपान्तरण गरी कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रवन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग यहाँ ल्याउनुपर्ने बताए ।
उनले राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्याान केन्द्रित हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको बताए ।
उनले भने–‘ राजनीतिक परिवर्तन पछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ । गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो । तर, आज म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो भनेजस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदैछन् त्यति त्यति गाउँ रित्तिदैछन्।
शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ । ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ । उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ । पछिल्लो समय गाउँबाट शहर र शहरबाट विदेशिने श्रृङ्खला अटुट छ ।’
राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि हाम्रो शिक्षालाई उद्यमशीलतासीत जोड्नुपर्ने बताउँदै अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुशी हुन सक्ने स्पष्ट पारे । उनले भने–‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पुराउने ? आजको यक्ष प्रश्न नै यही हो । यसका लागि कृषिको आधुनिकिकरण र व्यवसायिकीकरण गरी औधोगिकिकरणतर्फ फड्को मार्नुको विकल्प छैन।’
उनले गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सृजना गर्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले उद्यामशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्ने र नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको बताए ।
राष्ट्रपति पौडेलले विदेश नगईकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउँने बताउँदै वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको बताए ।
देश विकासको लािग कृषिलाई आधुनिकिकीकरण, व्यवसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता भएको उनको भनाई थियो । उनले भने–‘हिमाल, पहाड र तराईको नेपालको हावा, पानी र माटो अनुपम छ । यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी छ ।’







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?