
काठमाडौँ : काँग्रेस संसदीय दलको बैठकले सरकारले ल्याएको ६ वटै अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको छ। संसद् बैठक बस्नुअघि नयाँ बानेश्वरस्थित लोत्से हलमा बसेको बैठकले अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको हो।
दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकमा आज ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै संसदीय दलको बैठकले संसदमा विचाराधिन रहेको विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्ने सांसदहरूलाई निर्देशन पनि गरेको छ।
यस्तो बैठकको निर्णय–
१. नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृष्किरणका लागि संविधानको सार्थक कार्यान्वयन आजका महत्वपूर्ण एजेण्डा हुन्। नेपाली काँग्रेस सदैव सोकतन्त्र र संसदीय प्रणालीको पक्षमा रहेको छ। देशको सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित कांग्रेसले संसदको प्रभावकारितामा गम्भीर एवं जिम्मेवार रुपमा काम गर्नु पर्दछ। नेपाली काँग्रेस संसदीय दलको यो बैठक काँग्रेसका सम्पूर्ण माननीय सदस्यहरु संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक कियाशील रहन, राष्ट्र र जनताका हितमा पूर्णरुपमा समर्पित रही काम गर्दै सोही अनुसार विधायनको कार्य गर्ने र जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिवद्धता व्यक्त गर्दछ।
२. संघीय लोकतान्त्रिक गणतात्मक शासन व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्था बमोजिम धेरै कानून निर्माण गर्न बाँकी छन्। संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अबिलम्ब संसदमा प्रस्तुत गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ। साथै संसदमा विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाली काँग्रेसका सम्पूर्ण माननीय सदस्यहरुलाई यो बैठक निर्देशन गर्दछ।
३. आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धि ११, सुशासन प्रवर्द्धनः तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि सम्बन्धि ३, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६, निजीकरण ऐन, २०५० र सहकारी ऐन २०७४ समेत गरी २९ वटा विद्यमान ऐनमा केही समसामयिक विषय सम्बोधन गर्न कार्यविधिगत स्पष्टता गर्न केही प्रावधान संशोधन गरी नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेशहरुलाई यो बैठक समर्थन गर्दछ।
४. नेपाली कांग्रेस संसदीय दलको विधानको धारा २० को उपधारा (१) अनुसार दलको कार्यसमितिको मिति २०८१/१०/०३ गतेको बैठकले दलको अनुशासन समितिको संयोजकमा माननीय दिलेन्द्रप्रसाद बडूलाई मनोनयन गर्ने र बाँकी २ जना सदस्य दलका नेताले आपसी सल्लाहबाट मनोनयन गर्ने निर्णय भएकोमा यो बैठक उक्त निर्णयलाई अनुमोदन गर्दछ।
५. २०८१ माघ २ गते आफ्नो व्यवसायिक कार्य सकेर बाहिर निस्कने क्रममा अबा व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि गरेको सांघातिक आक्रमणको घोर निन्दा दोषी उपर कडा भन्दा कडा कारवाही गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?