संस्कृति बोध गराउन स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा

काठमाडौं : हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडीखेलमा शुक्रवार कार्यक्रम आयोजना गरिएको थियो।

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका विद्यालयहरूबाट पाँच हजार विद्यार्थी सहभागी रहेका थिए । तीमध्ये ६६ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो।

श्री नेपाल वेद विद्याश्रमका अच्युत नेपाल प्रथम भएका थिए। उनले प्रमाणपत्र सहित ५१ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

त्यसैगरी  शहीद स्मारकका लोकराज जैसी दोस्रो स्थान हात पारे। दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमला तेस्रो बन्न सफल भइन् । द्वितीय र तृतीयले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पाए।

सान्त्वनाअन्तर्गत ६३ जनालाई प्रमाणपत्रसहित प्रति व्यक्ति एक हजार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यालयका साना भाइबहिनीहरूलाई संस्कारसहितको नैतिक शिक्षा सिकाउँदै विद्यालय तहदेखि नै संस्कृत शिक्षा, हाम्रो वैदिक हिन्दुत्वको शिक्षा र नैतिक शिक्षा सिकाउन अति आवश्यक रहेको ब बताए।

त्यसैगरी कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले राष्ट्र बलियो बनाउनका लागि भाषा, धर्म, संस्कृति र सभ्यता महत्वपूर्ण रहेको बताए। उनले राष्ट्र बलियो बनाउन सुसंस्कृत समाज, आदर्श नागरिक, असल नैतिकवान, चरित्रवान व्यक्ति निर्माण आवश्यक रहेको बताए।

कार्यक्रममा सामाजिक अभियन्ता उज्वल विक्रम थापाले नेपालमा नैतिक शिक्षाको कमी भएकाले विद्यार्थीहरुले आफूमा करुणा, नैतिक शिक्षा, वृद्धहरु प्रति देखाउने सम्मान र मानवतालाई जगाउनु पर्ने बताए।

कार्यक्रममा संघका राष्ट्रिय संघ चालक कल्याण कुमार तिम्सिनाले देशको माटो, संस्कृति, धर्म, भूगोल, इतिहास र परम्पराको बारेमा विद्यार्थीलाई गौरवबोध गराउन आवश्यक रहेको बताए। उनले यस परीक्षाबाट हाम्रा धर्म, संस्कृति र सभ्यतामा ज्ञान हस्तान्तरण र पुस्तान्तरण गरिरहेको बताए।

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक फूलप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम व्यवस्थापनमा दुई सय जनाभन्दा धेरै स्वयंसेवक परिचालन गरिएको थियो। १४० जनाभन्दा धेरै परीक्षकहरूले डेढ घण्टामा उत्तरपुस्तिका परीक्षण गरी नतिजा सार्वजनिक गरिएको थियो।

संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?