भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसङ्गति विरुद्ध एकीकृत नागरिक अभियानले खवरदारी गर्ने

तनहुँ । व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, कुशासन विकृति र विसङ्गतिहरू विरुद्ध एकीकृत नागरिक अभियान व्यास नगरपालिका तनहुँले खबरदारी गर्ने भएको छ । अभियानले सोमबार दमौलीमा पत्रकार सम्मेलन गर्दै भ्रस्टाचार बिरुद्धको अभियान संचालन गर्ने जनाएको हो ।

अभियानलाई सबैले सहयोग गर्नको लागि अनुरोध समेत गरिएको थियो । सुशासनका लागि स्वार्थ भन्दा माथि भन्ने नाराका साथ अघि बढेको अभियान भ्रस्टाचार गर्ने र गराउन खोज्ने जो कोहीलाई पनि नछाड्ने पत्रकार सम्मेलनमा संयोजक मित्र दुराले जानकारी गराएका थिए । दुराले जनप्रतिनिधिले यो अभियानमा साथ दिनुपर्ने बताए । पछिल्लो समय देशमा भ्रस्टाचार ब्याप्त छ । त्यो रोग व्यास नगरपालिकामा पनि देखिएकाले अब त्यस्तो कुकर्म गर्नेलाई नछाड्ने उनले बताए । व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, कुशासन विकृति र विसङ्गतिहरू विरुद्ध एकीकृत नागरिक अभियानको प्रारम्भ हाम्रै व्यास नगरपालिकाबाट भएको छ । भ्रष्टाचार र कुशासन अहिलेको महारोग हो । नेपालमा स्थानीय तहदेखि नै केन्द्रसम्म भ्रष्टाचार व्याप्त छ । त्यसैले देशभर हुदैछ । यो अभियान “देशका लागि, स्वार्थ भन्दा माथि, लागौं अब साथी” भन्ने नाराका साथ सुरु गर्न लागिएको छ, उनले भने ।

संयोजक दुराका अनुसार अभियानको उद्देश्य स्थानीय तहदेखि राज्यका विभिन्न निकायमा हुने भ्रष्टाचार, ढिलासुस्ती, कुशासन, विकृति र विसङ्गतिहरूलाई ठाउँका ठाउँ निरुत्साहित गर्नु हो । यसका साथै सर्वसाधारण नागरिकहरुलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत गराउने र सुशासन र पारदर्शितालाई बढावा दिने पनि रहेको उनले बताए । यो अभियान अन्तर्गत सुरूको चरणमा व्यास नगरपालिकाका १४ वटै वडाहरुमा पुगी अभियन्ताहरू मार्फत जनचेतनामूलक कार्यक्रमहरू, नागरिकहरूको ऐक्यबद्धता दर्शाउन भ्रष्टाचारीको कात्रोमा सर्वसाधारणको हस्ताक्षर सङ्कलन र प्रदर्शन अभियान र भ्रष्टाचारीहरूको सम्मानका लागि घरघरबाट थोत्रा जुत्ता चप्पल संकलन गर्ने सांकेतिक अभियान सञ्चालन गरिनेछ । यो पहिलो चरणको अभियान सकिएपछि पुनः पत्रकार सम्मेलन गरी अभियानका बाँकी कार्यक्रमहरू सार्वजनिक गर्दै लगिनेछ, उनले भने ।

पत्रकार सम्मेलनमा युवा अभियन्ता सुदिप गफ्फारले रास्ट्रलाई नै भ्रष्टाचार मुक्त बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका थिए । त्यस्तै राप्रपाका अध्यक्ष बिनोद घर्तीले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्दै भ्रष्टाचार विरुद्धको अभियानमा राप्रपा पार्टीले पुर्ण रुपमा साथ सहयोग गर्न तत्पर रहेको बताए । भ्रष्टाचारलाई न्यूनीकरण भन्दा पनि अन्त्य गर्नुपर्ने पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?