काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टाचारका विषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ। प्रतिवेदनमा रहेका विषयलाई आवश्यक यथाशिघ्र अध्ययन, अनुसन्धान गरि कारबाही प्रक्रिया अघि बढाउने गरि अख्तियारमा पठाइने उनले बताए।
बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका थिए। उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा विमानस्थल निर्माणका विषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरे। उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफूमाथि छानबिन गरे बयान दिन जाने स्पष्ट पारे।
त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले उपसमितिको प्रतिवेदनमा कुनै पूर्वाग्रह नरहेको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए। बैठकमा उपसमितिको प्रतिवेदनका विषयमा सांसदहरूबीच विवादसमेत भएको थियो। उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै प्रक्रिया पूरा गरिएको बताए।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?