आरिफको अर्धशतकमा नेपालद्वारा नेदरल्याण्ड्स पराजित

आइसिसी विश्वकप लिग टु अन्तर्गत बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको छ। आरिफ शेखको अर्धशतक र दीपेन्द्रसिंह ऐरीको संयमित ब्याटिङ नेपालको जितको आधार बन्यो।

नेदरल्याण्ड्सले दिएको २२५ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। आरिफले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रन बनाए भने उपकप्तान दीपेन्द्रले ६१ बलमा ३ चौकासहित नटआउट ३८ रन जोडे। दुबैले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए।

यसअघि नेपालका ओपनर कुशल भुर्तेलले २५, आसिफ शेखले १९, कप्तान रोहित पौडेलले २३ र भीम सार्कीले ११ रन बनाए। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले एक-एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा समेटिएको थियो। नोहा कोर्सले ५ चौकाको सहयोगमा ४८ रन बनाए भने कप्तान स्कट एडवार्डसले पनि ४६ रनको योगदान गरे। कोर्स र रोलेफ भान डर मिर्वोले ८औं विकेटका लागि ५५ रनको साझेदारी गर्दै टिमलाई मध्यम योगफलमा पुर्याए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए।

यस जितसँगै नेपालले १४ खेलमा १० अंक बनाएको छ र लिगको सातौं स्थानमा उक्लिएको छ। नेदरल्याण्ड्स भने २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?