दमाैली । पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छ्न । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र म्याग्दे गाउँपालिकाको सहयोगमा म्याग्दे गाउँपालिका–६ मनपाङमा शुक्रबार आयोजित पर्यटन प्रबद्र्धनमा सञ्चारकर्मी र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मनपाङ पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए। गाउँपालिकाले मनपाङ गाउँलाई होमस्टे गाउँको रुपमा विकास गर्दै आन्तरिक पर्यटक भित्र्याउने अभियानमा लागिपरेको उल्लेख गरे ।
गाउँपालिकाले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रबद्र्धन गर्दै पर्यटनबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखेको श्रेष्ठले बताए। उनले भने, “मनपाङ, हर्षपुर, अकला, किल्चोकको अकला लगायतका क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धन हुन आवश्यक छ ।”
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाको सबैभन्दा अग्लो स्थान मनपाङ रहेकाले यो पर्यटनका लागि प्रचुर सम्भावना बोकेको ठाउँ भएको बताए। उनले भने “यहाँ इतिहास बोकेका, धार्मिक महत्व भएका ठाउँहरु पनि छन् । प्रचुर सम्भावना भएको यस ठाउँ ओझेलमा परेकाले सञ्चारकर्मीले कलम चलाउनुपर्छ ।”
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पालिकाभित्रका थुप्रै पर्यटन सम्भावना बोकेका ठाउँ भएकाले पालिकाले गुरुयोजना बनाएर त्यस ठाउँको विकास गर्न लागेको बताए। त्यसक्रममा अधिकारीले पालिकाभित्रका समग्र पर्यटन क्षेत्रका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
म्याग्दे गाउँपालिका–६ का वडाध्यक्ष हिरालाल गुरुङले वडाभित्र रहेका मनकामना मन्दिर, कोटघर तथा अन्य पर्यटकीय स्थलको प्रबद्र्धनका लागि वडाले नेतृत्व लिएको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारीले जिल्लास्थित विभिन्न पालिकाका धार्मिक तथा पर्यटकीय स्थलको प्रबद्र्धनका लागि महासङ्घले सम्बन्धित पालिकासँगको सहकार्यमा प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको बताए। पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धनका लागि जिल्लास्थित सञ्चारकर्र्मीले कलम चलाउने र पालिकाले थालेका उदाहरणीय काममा सञ्चारकर्मीको सहयोग रहने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव कृष्ण न्यौपानेले महासङ्घले पालिकासँगको सहकार्यमा यसअगाडी आँबुखैरेनी, भानुमा पर्यटन प्रबद्र्धनका कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, रिपोर्टस् क्लव नेपालका गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले, पत्रकारहरु नारायण खड्का, शङ्करराज नहर्की, हरि खरेल लगायतले धारणा व्यक्त गरेका थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?