तनहुँको आँबुखैरेनी २ ऐनापहराबाट बस खस्यो, ५ जना घाइते

तनहुँ, १८ श्रावण – पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाँउपालिका २ ऐना पहरामा आईतवार दिउँसो बस दुर्घटना भएको छ ।

गोरखाबाट नारायणगढ जाँदै गरेको ग.२ ख. १०७७ नम्बरको बस सडकबाट तल मस्र्याङ्दी नदी नजिकै खसेको हो । दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् । घाईते मध्ये दुई जना गम्भिर रहको र तीन घाईतेको अवस्था समान्य रहको इलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

उद्वार गरिएका मध्ये १ जना महिला गंभिर घाईते भएका कारण उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । चितवन लगिएका महिला शहिद लखन गाउँपालिका–६ की अन्दाजी बर्ष ४१ की सिनु थापा भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ बर्षिय सन बहादुर गुरुङ समेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उद्वार गरिएका मध्ये ४ जनाको आँबुखैरेनी स्थित अस्पतालमा उपचार जारी रहेको छ । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकका अनुसार बस भित्र अरु पनि यात्री भएको हुनसक्ने आशंकामा अहिले प्रहरीले क्रेनको सहायताले बसलाई उठाउने तयारी गरिएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?