नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्काेन) दमाैली शाखाले श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा श्रीश्री राधाकृष्णको रथयात्रा आयोजना गर्ने भएकाे छ ।
श्रावण ३१ गते कृष्णजन्माष्टमीकाे अवसरमा तनहुँमा नै पहिलो पटक रथयात्रा आयोजना गर्न लागेको हाे । समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने उद्देश्यका साथ रथयात्रा लगायतका कार्यक्रम गर्न लागिएको इस्कोन दमौली केन्द्र प्रमुख निरन्तर दासले जानकारी दिए ।
विगतका वर्ष जस्तै यस वर्ष पनि विभिन्न धार्मिक कार्यक्रमहरु, झांकी प्रदर्शनी, भजन किर्तन, कृष्णलिला, राधा कृष्ण झुला, रथयात्रा तथा कृष्ण कथा, राधाकृष्ण महाअभिषेक, महाप्रसाद वितरण सहित परम्परागत रुपमा श्रीकृष्ण जन्माष्टमी विषेश कार्यक्रम भव्यताका साथ मनाउन लागिएको उनले बताए।
कृष्णजन्माष्टमीकाे दिन बिहान ११ बजे तनहुँ उद्योग वाणिज्य संघको भवन बाट बृहत रथयात्रा प्रारम्भ गरि दिउँसो २ बजेसम्म दमौली बजार परिक्रमा हुनेछ । दिउँसो २ बजे देखि राती १२ बजेसम्म जन्माष्टमी विशेष कार्यक्रम (कृष्ण कथा, कृष्ण लिला, राधाकृष्ण झुला, सांस्कृतिक कार्यक्रम, राधाकृष्ण महाअभिषेक, महाप्रसाद) आयोजना गरिने निरन्तर प्रभुले जानकारी दिए। दमौलीले व्यास-३, देउरालीनगर स्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामा इस्कोन दमाैली रहेर प्रत्येक दिन बिहान ५ बजे देखि सांझ ७ बजेसम्म दैनिक आरती, श्रीमद्भागवत प्रवचन हुँदै आएकाे छ ।
प्रत्येक शनिबार दिउँसो १ बजे देखि साँढे ४ बजेसम्म शनिवारीय सत्संग कार्यक्रम साथै समुदायमा नियमित हरिनाम संकिर्तन, विद्यालय/क्याम्पसहरुमा सातदिवसीय आत्मासाक्षात्कारको विज्ञान, मन नियन्त्रण गर्ने कला, तनाव व्यवस्थापन, रिस सन्तुलन गर्ने कला, समय व्यवस्थापन गर्ने कला जस्ता विषयहरुमा सेमिनार तथा अन्य विभिन्न आध्यात्मिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
इस्कोन दमौलीले जन्माष्टमी विशेष कार्यक्रम र रथयात्रामा सहभागी हुनका लागि जिल्लाबासी एवं विभिन्न व्यक्तिहरूलाई आग्रह समेत गरेकाे छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?