तनहुँमा सडक दुर्घटना न्यूनीकरणका लागि ४ बुँदे राजमार्ग सुरक्षा सम्बन्धी निर्णय

तनहुँ  भदौ ८-  पृथ्वी राजमार्गमा बढ्दो सडक दुर्घटना, पैदल यात्री तथा बालबालिकाको सुरक्षालाई ध्यानमा राखी तनहुँ जिल्ला प्रशासन कार्यालयमा आइतबार राजमार्ग सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।

बैठकले सडक दुर्घटना न्यूनिकरण, यातायात व्यवस्थापन र यात्री सुरक्षाका लागि विभिन्न ४ बुँदे निर्णय गरेको छ । निर्णयअनुसार, पृथ्वी राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको सहकार्य र समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।

सोही क्रममा विद्यालय, यातायात व्यवसायी र सामाजिक संस्थासँग सहकार्य गरेर ट्राफिक नियम पालना सम्बन्धी जनचेतना फैलाइने निर्णय भएकाे तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । त्यस्तै, सवारी चापका कारण राजमार्गसँग सिधा सम्पर्क हुने सडकमा अवरोध हुने गरी सार्वजनिक तथा निजी सवारी साधन पार्किङ भइरहेकाले उपयुक्त स्थानमा पार्किङ व्यवस्थापन गर्न व्यास नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीकाे भनाई छ।

बिहान ८:३० देखि १० बजेसम्म र दिउँसो ३:३० देखि ५ बजेसम्म दमौली बजार क्षेत्रमा स्काउट, जुनियर रेडक्रस र विद्यालयका विद्यार्थीको सहकार्यमा स्वयंसेवक परिचालन गरी ट्राफिक नियम पालना गराइनेछ । यस्तै, सरकारी तथा संस्थागत विद्यालयका सवारी चालक र सहचालकलाई व्यास नगरपालिका र एपीएमको सहकार्यमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रमका लागि ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?