अपाङ्गतामैत्री पहुँचयुक्त सडक निर्माणमा ध्यानाकर्षण

तनहुँ ,१३,भदौ- तनहुँका अपाङ्गता अधिकारकर्मीहरुले दमौली बजार क्षेत्रमा भइरहेको सडक विस्तार कार्य अपाङ्गतामैत्री नभएको भन्दै तत्काल सुधारका लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।

अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चका रूपमा क्रियाशील “पहुंचयुक्तता अभियान तनहुँ”ले जिल्लास्थित प्रशासन र नगरपालिकामा बुझाएको ध्यानाकर्षण पत्रमार्फत सडकलाई ह्विलचेयर प्रयोगकर्ता तथा दृष्टिबिहिनमैत्री बनाउन माग गरिएको हो। अभियान संयोजक मदन पौडेल र उप–संयोजक ईश्वर बास्तोलाको नेतृत्वमा लामो समयदेखि जनचेतना, पैरवी र अनुगमन गर्दै आएको अभियानले यो विषयलाई प्राथमिकताका साथ अघि सारेको जनाएको छ।

ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले अपाङ्गतामैत्री सडक निर्माणका लागि रोड सेफ्टी विभागसँग सहकार्य भइरहेको बताए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले राज्यको नीति अनुसार सडकलाई सबैका लागि पहुँचयुक्त बनाउन नगरपालिका संवेदनशील रहेको र समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी रामकृष्ण  अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज र सुरक्षित सडक निर्माणका आवश्यक पक्षमा छलफल गरिएको थियो।

अनुगमनका क्रममा अपाङ्गता भएका व्यक्तिहरु आफैंले अनुभव सुनाएका थिए। ब्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत कृष्ण थापाले ह्विलचेयर प्रयोगकर्ता भएर भोगेका कठिनाइहरु बताईन्। नेत्रहीन संघ तनहुँका बिराजमान कुमालले दृष्टिबिहिनका लागि राखिएको टेक्टाइल ब्लक बिजुलीको पोलमै ठोक्किने गरी बनाइएको हुँदा दुर्घटनाको जोखिम बढेको बताए। रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्रा क्रसिङ र गाइडिङ ब्लक जस्ता आधारभूत संरचनामा ध्यान दिनुपर्नेमा जोड दिए।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको भागका रूपमा दमौली बजारको दुर्गा मन्दिरदेखि बुल्दी खोला खण्डमा गरिएको अनुगमनमा अपाङ्गतामैत्री पूर्वाधारको कमी देखिएको अभियानले जनाएको छ।

ध्यानाकर्षण पत्रमा उठाइएका प्रमुख समस्यामा फुटपाथ भिरालो भएर प्रयोगमा कठिनाइ हुने, दुर्गा मन्दिरदेखि बुल्दी खोलासम्म बीचभागमै बिजुलीका पोल राखिएका कारण ह्विलचेयर र सेतोछडी प्रयोगकर्ताले फुटपाथ प्रयोग गर्न नसक्ने, टेक्टाइल ब्लकको रेखा पोलमै ठोक्किने गरी बनाइएको, सफासडक चोकमा जेब्रा क्रसिङ भए पनि फुटपाथमा चढ्ने र्याम्प नबनाइएको,बाघबजार र बुल्दीखोला पुलनजिकै जेब्रा क्रसिङ तोकिए पनि डिभाइडरका कारण सडक पार गर्न नसकिने अवस्था उल्लेख गरिएको छ ।

सडक नालामाथि राखिएका स्ल्याबबीचको ठूलो ग्यापले दुर्घटनाको जोखिम बढाएको, अभियानका प्रतिनिधिहरुले यी सबै अवरोध हटाई सडकलाई अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज, सुरक्षित र पहुँचयुक्त बनाउन तत्काल पहल गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?