तनहुँ , १३ भाद्र- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अरूलाई गाली गरेर मात्रै देश समृद्ध नहुने बताएका छन् ।
शनिबार तनहुँको दमौलीमा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले युवामा आशा र आत्मविश्वास जगाउने जिम्मेवारी जेसिजले लिनुपर्नेमा जोड दिए । उनले भने, “देश बनाउन निर्वाचन जितेर आउनुपर्छ, स्वदेश वा विदेशबाट गाली गरेर मात्रै देश बन्छ भन्ने सोच त्याग्नुपर्छ ।”
मुख्यमन्त्री पाण्डेले युवाबीच नकारात्मक धारणा बढ्दै गएको र त्यसलाई अन्त्य गर्नुपर्ने बताउँदै जेसिजले नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउन सक्ने उल्लेख गरे ।
कार्यक्रम नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष एलिना महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, विभिन्न पार्टीका प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।
सम्मेलनमा क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, पदाधिकारी, सदस्य, राष्ट्रिय पदाधिकारी तथा पर्यवेक्षकसहित करिब ८ सय सहभागी रहेको सम्मेलनका सचिव माधव न्यौपानेले जानकारी दिए । सम्मेलन आइतबारसम्म चल्ने छ ।
व्यास जन्मस्थल परिचय, तनहुँको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धनमा समेत सम्मेलनले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?