तनहुँ — व्यास नगरपालिकाले खर्च कटौती र कर्मचारीको स्वीकृत दरबन्दी अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो। समितिले सङ्घीय सरकारको निर्देशनसहित खर्च व्यवस्थापन र कर्मचारी दरबन्दीसम्बन्धी विषय अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
नगर प्रवक्ता सुरेश थापाका अनुसार समितिको प्रतिवेदन सुशासन समितिमार्फत आगामी नियमित बैठकमा प्रस्तुत गरिने छ।
बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नगरपालिकाले भोगेको क्षतिको समीक्षा गरिएको थियो। आन्दोलनका क्रममा चार पाङ्ग्रे चार वटा सरकारी सवारी, तीन मोटरसाइकल, एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। एक निजी स्कुटर पूर्ण क्षति, एक निजी मोटरसाइकल आंशिक क्षति, साथै एक सरकारी लोडर, टाटा सुमो र दमकलमा आंशिक क्षति पुगेको विवरण बैठकमा प्रस्तुत गरिएको छ।
त्यस्तै मूल कार्यालय र दमौली सभाहलको शिशा फुटेको, वडा नम्बर १३ का दुई पुराना भवन पूर्ण क्षति तथा नयाँ भवन आंशिक क्षति पुगेको, नगरप्रमुख आवासगृहमा तोडफोड र भाडामा बस्ने व्यक्ति बसोबास क्षेत्रबाट नगद र गहना चोरी भएको विषयमा पनि छलफल भएको नगरपालिकाले जनाएको छ।
अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको निर्देशनका बुँदाहरूको समीक्षा गर्दै चालु आर्थिक वर्षका योजनाहरू त्यही आधारमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले आन्तरिक आय २० करोड अनुमान गरेकामा असोज २१ गतेसम्म दुई करोड ३८ लाख रुपैयाँ संकलन भएको विवरण बैठकमा पेश गरिएको थियो।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?