व्यास नगरपालिकामा करार कर्मचारी नहटाउने, नयाँ दरबन्दी नबढाउने निर्णय

तनहुँ — व्यास नगरपालिकाले करार कर्मचारी नहटाउने निर्णय गरेको छ। आइतबार बसेको कार्यपालिका बैठकमा अस्थायी र करार कर्मचारीको दरबन्दी तथा खर्च कटौतीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन सुशासन समितिमार्फत प्रस्तुत भएपछि छलफल भएको हो।

नगर प्रवक्ता सुरेश थापाका अनुसार हालका जनप्रतिनिधि आउनुअघि नै नियुक्त भएर लामो समयदेखि कार्यरत कर्मचारीको अवस्थालाई ध्यानमा राखी अब नयाँ दरबन्दी नबनाउने र रिक्त स्वीकृत दरबन्दी प्रदेश लोकसेवा आयोगमार्फत पूर्ति गर्ने निर्णय भएको छ।बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कानुनअनुसार संगठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८२ मार्गभित्र पेश गर्न कार्यालयलाई निर्देशन दिएको छ। सो प्रतिवेदनका आधारमा आगामी नगरसभाबाट आवश्यक निर्णय लिइनेछ। यसअघि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित समितिले नगरपालिकाका एक सय १४ अस्थायी कर्मचारी हटाउनुपर्ने सुझावसहितको प्रतिवेदन सुशासन समितिमा पेश गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?