व्यास नगरपालिकाको ४४औँ नगरसभा सम्पन्न, संशोधित बजेट र विधेयक पारित

तनहुँ । व्यास नगरपालिका, तनहुँको ४४औँ नगरसभा आज भव्य समारोहका बीच सम्पन्न भएको छ। नगरसभाको अध्यक्षता नगर प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए ।

नगरसभामा नगर प्रमुख न्यौपानेले नगरपालिकाको हालसम्मको समग्र प्रगति समीक्षा प्रस्तुत गरे । नगर उपप्रमुख इन्दिरा दरैले संशोधित आर्थिक विधेयक, संशोधित विनियोजन विधेयक, संशोधित राजस्व तथा व्यय अनुमान र न्यायिक समितिको प्रतिवेदन सभामा पेश गरिन्।

विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, संशोधित वन ऐन र समितिको प्रतिवेदन पेश गरे । यस्तै संस्थागत व्यवस्था तथा क्षमता विकास समितिका संयोजक दल बहादुर दुराले समितिको प्रतिवेदन प्रस्तुत गरे भने सदस्य बिन्नु कुमार श्रेष्ठले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र दरबन्दी संरचना पेश गरे ।

लेखा समितिकी संयोजक गौकुमारी न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापनसम्बन्धी पाँचवटै विषयगत समितिका संयोजकहरूले आ–आफ्नो समितिको प्रतिवेदन सभामा पेश गरेका थिए।

नगरसभाले सभामा पेश भएका सबै विधेयक, प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्नुका साथै नगर कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन गरेको छ। सभाले कर्मचारीहरूको तलबी प्रतिवेदन र वार्षिक खरिद योजना पारित गर्दै महालेखा परीक्षकको कार्यालय अन्तर्गत करिब १८ करोड रुपैयाँ बराबरको सैद्धान्तिक बेरुजु सम्परीक्षण गरी नियमित गर्ने निर्णय गरेको छ।

सभामा विभिन्न विषयमा सभासदहरूले उठाएका जिज्ञासामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारीले स्पष्टिकरण दिएका थिए । साथै सभाले केही नयाँ शीर्षकमा कर प्रस्ताव गर्दै ४३औँ नगरसभाबाट प्रस्तावित आयभन्दा कम राजस्व संकलन हुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाएर न्यून बजेट पारित गरेको छ।

यस निर्णयले वडास्तरीय योजनामा खासै प्रभाव नपर्ने भए पनि स्थानीय राजस्व बाँडफाँडतर्फ सम्झौता नभएका केही आयोजनाहरू प्रभावित भई कार्यान्वयनमा नजाने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?