भिमाद–खैरेनीटार सडकखण्ड अन्तर्गत रुपाकुना पुल जोखिमपूर्ण, भिमादका युवाद्वारा सडक डिभिजनको ध्यानाकर्षण

तनहुँ। भिमाद–खैरेनीटार सडकखण्ड अन्तर्गत म्याग्दे गाउँपालिका वडा नं. ५ स्थित धारापानी नजिक रहेको रुपाकुना पुल र आसपासको सडक संरचना प्राविधिक रूपमा सुरक्षित नरहेको भन्दै भिमादका युवाहरूले सडक डिभिजन कार्यालय तनहुँको ध्यानाकर्षण गराएका छन्।

सोमबार सडक डिभिजन कार्यालय पुगेर भिमादका युवाहरूले सि.डि.ई. राजिव श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ध्यानाकर्षण पत्र बुझाउने क्रममा भिमादका युवा सुमन रतनले उक्त पुल र सडकखण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको जानकारी दिए।

ध्यानाकर्षण पत्रमा वर्षायामका बेला २–३ जनाले ज्यान गुमाइसकेको, जीप खोलामा खस्ने जस्ता गम्भीर दुर्घटना भइसकेको र यस क्षेत्र अत्यन्तै जोखिमपूर्ण बन्दै गएको उल्लेख गरिएको छ। स्थानीयवासी, सवारी चालक तथा अन्य सरोकारवालाहरूले पनि उक्त पुल र सडकखण्ड असुरक्षित रहेको गुनासो गर्दै आएका छन्।

जोखिम न्यूनीकरणका लागि फलामे रेलिङ (बार) तथा सेफ्टी वाल निर्माण, रात्रीकालीन समयमा स्पष्ट देखिने रिफ्लेक्टरसहितका सावधानी साइनबोर्ड जडान तथा अन्य आवश्यक सुरक्षा उपाय तत्काल अपनाउन माग गरिएको भिमादका युवा दिपेन्द्र भण्डारीले बताए।

ध्यानाकर्षण पत्र बुझ्दै सि.डि.ई. राजिव श्रेष्ठले एक हप्ताभित्रै तत्काल समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। साथै दीर्घकालीन समाधानका लागि समेत छिट्टै प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?