धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै रास्वपा उपसभापति, निवर्तमान सांसद एवम् तनहुँ एकका रास्वपा उम्मेदवार डा.स्वर्णिम वाग्लेले साइबर ब्यूरोमा निवेदन दिएका छन्।

डा वाग्लेले उजुरीमा पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धर्म, आस्था र व्यक्तिगत विचारलाई तोडमोड गरी प्रस्तुत गरिएको उल्लेख गरेका छन्। ती सामग्रीहरूले समाजमा नकारात्मक धारणा फैलाउने तथा द्वेष र उत्तेजना सिर्जना गर्ने काम गरिरहेको उनको भनाइ छ ।

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन् ‘यसले आफ्नो व्यक्तिगत प्रतिष्ठामा क्षति पुगेको र सामाजिक सद्भाव र सहअस्तित्वको मूल्यमा समेत आघात पुर्याएको छ ।’

डा. वाग्लेले आफू हिन्दु र बौद्ध धर्मका मूल्यमान्यता तथा विविधतामा आधारित नेपाली समाजको आपसी सम्मान र सहिष्णुतामा विश्वास गर्ने व्यक्ति भएको पनि स्पष्ट पारेका छन्।

राजनीतिक उद्देश्यका लागि गलत सूचना र फेक सामग्री प्रयोग गरी जनमतलाई प्रभावित गर्ने प्रयास भएको भन्दै उनले यसलाई गम्भीर आपराधिक कार्यका रूपमा लिन आग्रह गरेका छन्।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार यस्तो कार्य दण्डनीय अपराध हुने उल्लेख गर्दै उनले सम्बन्धित व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उजुरीमा कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाइएकोले दोषीलाई कानुनअनुसार सजाय हुनुपर्ने माग गरिएको छ ।(सिधाकुरा बाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?