
दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड नियन्त्रणको लागि विभिन्न आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहिबार सुचना जारी गरि कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसि) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला भर विहिबार राती १२ बजेबाट अर्काे व्यवस्था नहुँदासम्म विभिन्न आदेश जारी गरेका छन् ।
कोभिड– १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने, राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरु सन्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र गर्ने तथा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनीक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने नगराउने तथा अत्यावश्यक नियमित कार्यक्रमहरुको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी गराई गर्ने व्यवस्था मिलाउन प्रशासनले आदेश दिएको छ ।त्यसैगरि २५ जना भन्दा बढी मानिसको उपस्थित हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु गर्न पनि प्रशासनले रोक लगाएको छ ।सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा पार्क आदी) मा गर्दा यही माघ ७ देखी कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलनउनु पर्ने प्रशासनको सुचनामा उल्लेख छ ।
त्यसैगरि कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचना बमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्ने, नगराउने तथा पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाको हकमा स्वास्थ्य मापदण्डको पालना गरि जेड आकारमा राख्ने व्यवस्था मिलाउन , सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने तथा सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क र सवारी साधन दैनिक रुपमा स्यानिटाइज गर्नु पर्ने एवं खोप कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी खोप अभियानलाई सबै स्थानीय तहले तिव्रता दिनु पर्ने भएको छ ।
कोभिड–१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने यस सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन हुने निर्णय प्रशासनले गरेको छ ।अनुगमनका क्रममा यस देशको अवज्ञा भएको पाईएमा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?