वडावासीको स्वास्थ्यमा सचेत वडाध्यक्ष रेग्मी

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मी वडावासीको स्वास्थ्यमा सचेत तथा अपडेट हुने गरेका छन् । वडाध्यक्ष रेग्मीले कोभिड १९ संक्रमित वडावासीलाई घर घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नुका साथै उनीहरुको अवस्था अनुसारको औषधीको समेत व्यवस्थापन गर्दै आएका छन् । कोरोना संक्रमित प्रत्येक वडावासीको स्वास्थ्यको अपडेटका लागि उनले स्वास्थ्यकर्मी सहित १८ जनाको ‘आपतकालीन स्वास्थ्य स्वयम्सेवक’ समिति गठन समेत गरेका छन् ।

रेग्मीले भयवह अवस्थाबाट जोगाउनका लागि वडावासीहरुमा कोरोना संक्रमण लुकाएर बसेकाहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन समिति गठन गरी सेवा प्रवाह गर्न सहजता कायम गरेको बताउँछन् ।

‘कोरोना संक्रमणको त्रासले रोग नै लुकाउने गरेको पाइएपछि उनीहरुलाई स्वास्थ्यको पहुँमा ल्याउने माध्यमको सुरुवात गरेको हुँ, जसले गर्दा उनीहरुलाई परामर्श र पिसिआर तथा उपचारमा सहज हुनेछ,’ वडाध्यक्ष रेग्मीले भने ।

स्वास्थ शाखाका कर्मचारी नव गौतम, दिनेश थपलिया तथा सन्देश थापद्वारा १ दिने प्रशिक्षण प्रदान गरी कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकहरुले उच्च सतर्कताका साथ घरमा नै विरामिको चेकजाँच गर्ने व्यवस्था गरिएको उनले बताए ।

वि.एस.सि नर्सिङ्ग गरेकी मनिषा ढकाल लम्सालको संयोजकत्वमा समिति गठन गरिएको छ । लम्सालको संयोजकत्वमा गठित स्वास्थ स्वयंसेवकहरुले कोरोना संक्रमणको त्रासले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पु¥याउन मदत गर्ने तथा लक्षण देखिएकाहरुलाई वडासंग समन्वय गरी पिसिआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् ।

एच.ए, स्टाफ नर्स अनमी, सि.एम.ए, रेडियोग्राफी, ल्याव असिस्टेन्ट लगायतका कोर्ष पूरा गरेर कोरोना संक्रमणका कारण घरमा नै रहेका जनशक्तिलाई वडाको आग्रह वमोजिम उनीहरुलाई परिचालन गरिएको हो । वडाध्यक्षले रेग्मीले अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाईजर, फेस सिल्ड, ग्लोव्स लगायतका स्वास्थ स्वयंसेवकका लागि आवश्यक सामग्री वडाले नै उपलबध गराएको बताए । यसअघि पनि वडाध्यक्ष रेग्मी स्वास्थ्यकर्मी सहित औषधी सहित वडावासीको घर घरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?