बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

काठमाण्डाै : नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।  सभापति देउवाले आज एक अपिल जारी गर्दै  पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

देउवाले निकालेको अपिलमा एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न आग्रह गरेको छ ।

नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको देउवाले बताए ।

उनले कांग्रेसको एकल उम्मेदवारी भएको पालिका वा सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको पालिकामा विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन अपिल गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?