कोरोनाको तेस्रो र चौथाे लहरको चेतावनी: बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन अस्पतालहरूलाई अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाकाे उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले अक्सिजनको व्यवस्थापनसमेत गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था काबुभित्र नै रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?