गणतन्त्र दिवसमा तनहुँका दश कैदी रिहा

दमौली : सरकारले  विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कारागार शाखा तनहुँका १० जनालाई गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।

जिल्ला कारागार शाखा तनहुँका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरू रिहा भएका हुन ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको  कारागारका सूचना अधिकारी नारायण अधिकारीले  दिए ।

उनका अनुसार सजाय मिनाहा पाउनेमा  बहुविवाह मुद्दाका तीन, सवारी ज्यानका दुई, कर्तव्य ज्यानका दुई, आपराधिक उपद्रवका एक, आवेश प्रेरित हत्याका एक र काठ ओसारपोसारका एक जना रहेको  जनाएका छन ।

त्यसमध्ये ४० प्रतिशत कैद पूरा गरी ६० प्रतिशत छुट पाउने चार जना र ५० प्रतिशत कैद पूरा गरी ५० प्रतिशत छुट पाउने छ जना रहेका छन् । अधिकारीका अनुसार धेरै पाउनेले सात वर्ष एक महिना २७ दिन र थोरै पाउनेले एक महिना १२ दिन छुट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?