विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरूङको सरकार ढल्यो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले प्रदेशसभामा विश्वासको मत नपाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ ।

आज बिहीबार भएको मतदानमा गुरुङ्को पक्षमा २७ मत र विपक्षमा ३० मत परेको छ। एक जना सांसद भने तटस्थ बसेका छन्। प्रदेश सभा बैठकमा ५८ जना सांसद उपस्थित थिए भने १ जना सांसद अनुपस्थित थिए । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुराउन ३१ मतको आवश्यक पर्दछ।

गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए। १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आजका लागि समय मागेका थिए ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत गुमाएसंगै अब प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आह्वान हुनेछ ।

यस अघि पनि विपक्षमा रहेका दलको गठबन्धनबाट संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्तमा प्रस्ताव गरिएका नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले ३१ सांसद पुर्याउन सकेको खण्डमा धारा १६८ (५) अनुसार पोखरेल मुख्यमन्त्रीमा प्रस्ताव हुनेछन् । संवैधानिक व्यवस्था अनुसार यसरी गठन हुने  सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यो प्रयास असफल भएमा संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभाको चुनाव घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?